Hamro Sanchar

स्वास्थ्य मन्त्री बस्नेतद्वारा मुलपानी नगर अस्पतालको अनुगमन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २४ गते


काठमाडौं, माघ २४- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित मुलपानी नगर अस्पतालको अनुगमन गरेका छन् ।

मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, फार्मेशी लगायत विभिन्न कक्षको अनुगमन गर्नुको साथै भर्ना भएका बिरामीहरूको अवस्था बारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री बस्नेतले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अस्पतालले हाल उपलब्ध गराएका सेवाहरु र अस्पताल ब्यबस्थापनमा परेका अप्ठ्याराको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।

अस्पतालहरूको व्यवस्थापन राम्रो नभएको कारणले आम जनताले दुख पाएको भन्दै मन्त्री बस्नेतले पछिल्लो समय अस्पतालहरू अनुगमन गरिरहेका छन् । अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको उनको भनाई छ ।

नगर अस्पतालमा ८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष संचालनमा भैरहेको छ । जसमा रेड जोन २, एल्लो जोन ३ र ग्रीन जोन ३ गरी ८ वेडको आकस्मिक कक्ष रहेको छ । आकस्मिक कक्षमा डाक्टर, प्यारामेडिक र नर्सले चौबिसै घण्टा सेवा दिईरहेका छन् ।

आकस्मिक कक्षमा २ वटा मोनिटर, वाल अक्सिजन सप्लाई सहितको इमर्जेन्सी सेवा प्रदान हुँदै आएको छ ।

सार्वजनिक विदाका दिनमा पनि २४ घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएको अस्पतालमा २ वटा ओपिडी सेवा, ल्याव, एक्सरे तथा भिडियो एक्सरे, अर्थोपेडिक, छाला तथा चर्मरोग, मनोरोग बिशेषज्ञ सेवा, इएन्टी सेवा, आँखा उपचार केन्द्र संचालन हुँदै आएको छ । यसका साथै चौबीसै घण्टा प्रसुती सेवा, एम्बुलेन्स, शववाहन सेवा, परिवार नियोजन सेवा प्रदान गर्दै आइरहेको छ ।

अब अस्पतालमा छिट्टै अपरेशन थियटर संचालन गर्ने तयारीमा रहेको मेयर कार्की जानकारी दिए ।

यो पनि पढ्नुहोस्- बिरामीको उपचारमा लापरबाही गर्नेलाई २४ घण्टाभित्र ‘किकआउट’ गर्छु : मेयर कार्की


प्रतिकृया दिनुहोस्