१७ कार्तिक, काठमाडौं ।सरकारले आज र भोलि देशभरका बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य सेवा विभागका अनुसार यसपटक करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ।
कार्यक्रम सफल बनाउन ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरिएको छ।
सरकारले बालबालिकामा कुपोषण तथा स्वास्थ्य जोखिम घटाउने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालिएको हो।
























