
काठमाडौं। कागेश्वरी मनोहरा नगर अस्पतालले महिलाहरूको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क HPV DNA परीक्षण तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ।
नगर अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टरद्वारा सबै वडाका महिलाहरूलाई पालैपालो सहभागी गराई महिला प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क चेकजाँच गरिने जानकारी उपप्रमुख तथा प्रजनन स्वास्थ्य फोकल पर्सन लक्ष्मी कोइरालाले जानकारी दिइन्।
उनका अनुसार भोलि १३ गते बुधबार वडा नं. ६ का महिलाहरूको HPV DNA परीक्षण गरिनेछ भने आगामी २० गते बुधबार वडा नं. ९ का महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको छ।
यसैगरी प्रत्येक बुधबार नगर अस्पतालमा महिलाहरूका लागि निःशुल्क HPV DNA परीक्षणसँगै प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न रोगहरूको परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण गराई पाठेघरको मुखको क्यान्सर लगायतका रोगको जोखिम न्यूनीकरण गर्न यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।




























