
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालले बिदाको दिनमा पनि स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।
कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेको अस्पतालले जारी गरेको सूचनामा अस्पताल सेवा “अत्यावश्यक सेवा” भित्र पर्ने भएकाले सार्वजनिक बिदा लगायतका दिनहरूमा पनि सेवा नरोकिने स्पष्ट पारिएको छ। सूचनाअनुसार अस्पतालले साविककै कार्यतालिका अनुसार सबै सेवा सञ्चालन गर्नेछ।
अस्पताल प्रशासनले सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई जानकारी गराउँदै कुनै पनि अवस्थामा सेवा प्रवाहमा अवरोध नआउने जनाएको छ।
यस निर्णयले आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीहरूलाई बिदाका दिनमा पनि सहज रूपमा सेवा प्राप्त हुने विश्वास लिइएको छ।
स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्थाले यस्तो व्यवस्था गरेपछि नागरिकलाई २४सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ सकारात्मक कदमका रूपमा हेरिएको छ।














