
१० वैशाख, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारलाई सुझाव दिएका छन् ।
पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको उनको भनाइ छ ।
‘सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ,’ पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत् आमनागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेरमात्रै समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने सुझाव उनले दिएका छन् ।
‘यसर्थ, स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ,’ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका पौडेलले लेखेका छन् ।
उनले आफ्नो पालामा सुरुवात गरिएका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध पनि गरेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री पौडेलले विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा चारवटा कामहरू पनि स्मरण गराएका छन् । उनले लेखेका छन् –
१० अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएका थियौं ।
२० सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र ‘एक्सटेन्ड हेल्थ सर्भिस’ मार्फत् सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू सुरुवात गरेका थियौं ।
३० स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका थियौं ।
४० अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५ सय नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका थियौं ।














