Skip

Hamro Sanchar

देशभरिका आजदेखि किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २५ गते


काठमाडौं । सरकारले आइतबार (माघ २५)देखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)खोप अभियान देशभरि नै सञ्चालन गर्दै छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आइतबारदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ ।

अभियानकै क्रममा गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि खोप लगाइनेछ । तर, हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसविरुद्ध एचपीभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई खोप केन्द्रमा एचपीभी खोप लगाइनेछ ।

खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप लगाउन सबैलाई आग्रह गरे । नेपालमा हरेक दिन औसतमा ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर, यो क्यान्सर रोग एचपीभी खोपबाट रोक्ने सकिने बताइएको छ ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो ।

शाखाका अनुसार यसपटकको २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइनेछ ।

नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा छ ।


प्रतिकृया दिनुहोस्