Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह सञ्चालन

प्रदिप नेपाली प्रकाशित : २०८२ माघ, १९ गते


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह (Mortuary House) सेवा सञ्चालनमा आएको छ।

नगरवासी तथा सेवाग्राहीलाई सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले शवगृह सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको हो। यसले आकस्मिक मृत्यु, उपचारका क्रममा मृत्यु तथा अन्य कारणले अस्पतालमा ल्याइने शव वा विदेशमा मृत्यु भएर ल्याइएका शवको सम्मानजनक संरक्षणमा सहयोग पुग्ने अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले बताए।

शवगृह सञ्चालन तथा व्यवस्थापनका लागि अस्पतालले कार्यविधि लागू गरेको छ। कार्यविधिअनुसार शवको सरसफाइ, सुरक्षित भण्डारण, तापक्रम व्यवस्थापन तथा कानुनी प्रक्रिया पूरा गरी मात्र शव हस्तान्तरण गरिने व्यवस्था गरिएको छ। शवगृह अत्यन्त संवेदनशील क्षेत्र भएकाले प्रवेश, पहिचान र सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शवगृह सेवा House Keeping Department मार्फत सञ्चालन हुनेछ भने शव राख्दा आवश्यक कागजात अनिवार्य गरिएको छ।

अस्पतालले लागू गरेको शवगृह सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुसार शव राख्नका लागि २४ घण्टाको आधारमा शुल्क तोकिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि २४ घण्टासम्म शव राखेबापत ८ सय रुपियाँ शुल्क लाग्नेछ। नगर अस्पतालमै मृत्यु भएको अवस्थामा नगरपालिकाभित्रका बासिन्दाका लागि ८ सय र नगरपालिकाबाहिरका सेवाग्राहीका लागि एक हजार ६ सय शुल्क तोकिएको छ। यसैगरी, नगरपालिकाबाहिरका सेवाग्राहीका हकमा २४ घण्टासम्म शव राखेबापत २ हजार ३ सय शुल्क लाग्ने व्यवस्था गरिएको छ।

विपन्न, असहाय, लक्षित वर्ग तथा बेवारिसे शवको हकमा सामाजिक सेवा इकाइमार्फत व्यवस्थापन गरिने अस्पतालले जनाएको छ। महामारीजन्य रोगका कारण मृत्यु भएको अवस्थामा भने नेपाल सरकारको प्रचलित प्रोटोकलअनुसार शव व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।

नगर अस्पतालले शवगृह सेवालाई व्यवस्थित र पारदर्शी बनाउँदै सेवाग्राहीको पीडामा केही हदसम्म राहत पुग्ने विश्वास लिएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए। प्रमुख कार्कीले भने, “नागरिकको जीवन मात्र होइन, मृत्यु पछिको व्यवस्थापन पनि स्थानीय सरकारको जिम्मेवारी हो। दुःखको घडीमा परिवारले अनावश्यक हैरानी व्यहोर्न नपरोस् भन्ने उद्देश्यले नगर अस्पतालमा शवगृह सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याएका हौँ। सेवा पारदर्शी, सुलभ र मर्यादित बनाउने हाम्रो प्रतिबद्धता छ।”

अस्पताल प्रशासनले आवश्यक जानकारीका लागि सेवाग्राहीलाई अस्पताल प्रशासनसँग सम्पर्क गर्न आग्रह गरेको छ।

पछिल्ला दिनहरुमा बिरामीको संख्या अत्यधिक बढ्न थालेको छ। अस्पतालमा एकैदिन १ हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताल सय शैय्यामा स्तरोन्नतिको प्रक्रियामा छ। अस्पतालले चौबिसै घण्टा आकस्मिक सहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी सेवा प्रदान गर्दै आएको छ ।अस्पतालमा हाल ३० देखि ३५ शैय्या नियमित प्रयोगमा छन् ।


प्रतिकृया दिनुहोस्