
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा रहेको शिवम मार्गी एकीकृत महिला समाजले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर निःशुल्क आँखा परीक्षण शिविर संचालन गरेको छ।
तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ र ९ को समन्वयमा आयोजना गरिएको उक्त निःशुल्क आँखा परीक्षण सम्पन्न भएको हो।
कार्यक्रम वडा नं. ९ स्थित हनुमान मन्दिर ज्येष्ठ नागरिक समाज र गोठाटार ज्येष्ठ नागरिक समाजमा आबद्ध ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो।
शिविरमा १५८ जना ज्येष्ठ नागरिक तथा अन्य उमेर समूहका ३७ जना गरी जम्मा १९५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको आयोजक संस्थाले जनाएको छ। परीक्षणका क्रममा मोतिबिन्दु देखिएका बिरामीहरूलाई आगामी दिनमा निःशुल्क शल्यक्रिया गरिने योजना समेत रहेको बताइएको छ।
समाजकी अध्यक्ष गीता अर्याल ज्ञवालीले सामाजिक तथा मानवीय सेवासँगै महिलाको समग्र विकासका लागि संस्था निरन्तर रूपमा सक्रिय रहँदै आएको बताइन्।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का कार्यबाहक वडाअध्यक्ष भक्त थापा, ९ का अध्यक्ष अनिल थापा, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



















