
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयका २ सयभन्दा छात्रछात्राहरुको आँखा जाँच गरिएको छ । शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका र विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जको संयुक्त आयोजनामा विद्यालयका २ सय २२ जना विद्यार्थीको आँखा जाँच गरिएको हो ।
विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले यस बर्षको ‘सामुदायिक विद्यालयका विद्यार्थीका लागि बृहत नेत्र परिक्षण तथा चस्मा वितरण कार्यक्रमको उद्घाटन आनन्द भैरवबाट गरेको हो ।
कार्यक्रममा २३ जनालाई चस्मा समेत वितरण गरिएको थियो भने १९ जना विद्यार्थीलाई अस्पताल रिफर गरिएको थियो ।
नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमामा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेधी, लायन बिनय बस्नेत, शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका डा. प्रकाश कोइराला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख कार्कीले विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गरे । केन्द्रले नेत्र स्वास्थ्य सेवामा एक प्रमुख संस्थाको रूपमा स्थापित हुँदै उल्लेखनीय योगदान पुर्याउँदै आएकोमा धन्यवाद दिए ।




















