Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३१ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। ‘पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले बिहिबार घोषणा गरेको हो।

जिल्ला जन-स्वास्थ्य कार्यालय काठमाडौंका कोल्डचेन अफिसर हिरा कार्कीले पूर्ण खोप सुनिश्चितता घोषणा गरे भने नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र जिल्ला जन-स्वास्थ्य कार्यालय टेकुका प्रमुख जनस्वास्थ्य प्रशासक सागर घिमिरेले नगरप्रमुख उपेन्द्र कार्कीलाई हस्तान्तरण गरेका हुन्।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखाले बताएको छ। शाखाकाअनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जिल्ला जन-स्वास्थ्य कार्यालय टेकुका प्रमुख जनस्वास्थ्य प्रशासक घिमिरेले जानकारी दिए।

उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्ने नगरप्रमुख कार्कीले बताए। स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै प्रमुख कार्कीले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे।

सो अवसरमा नगरप्रमुख कार्कीले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए।

कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै नगर अस्पताललाई एक सय शय्यामा सञ्चालनको प्रक्रिया अघि बढेको जानकारी दिए। साथै आगामी साउन महिनादेखि प्रत्येक स्वास्थ्य चौकीमा फार्मेसी सेवा सञ्चालन गरिने पनि उनले बताए।

नगरप्रमुख कार्कीले आफूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके जनतामाझ जान कठिन हुने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। उनले समुदायको घरदैलोमा पुगेर सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूले नगरपालिकाले गरेका सकारात्मक काम र उपलब्धिबारे नागरिकलाई जानकारी गराउँदै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए।

कार्यक्रममा सम्पूर्ण वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणाको प्रमाणपत्र वितरण गरिएको छ। साथै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई योगदान पुर्याउने स्वास्थ्य संस्था प्रमुख तथा फोकल पर्सनलाई प्रमाणपत्र वितरण गरिएको छ।

नगरपालिका खोप फोकल पर्सन ज्ञानबहादुर महतद्धारा संचालित कार्यक्रममा शाखा प्रमुख तुलाजा लामाले स्वागत मन्तब्य दिएकी थिइन् भने कार्यक्रममा उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नम्बर ३ का अध्यक्ष राममणी पुडासैनी, ४ का अध्यक्ष बिजय श्रेष्ठ (धन), ६ का अध्यक्ष प्रकाश फुयालले मन्तब्य दिएका थिए।


प्रतिकृया दिनुहोस्