
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालमा २ सय ५० जेष्ट नागरिकले निशुल्क बिशेषज्ञ सेवासहितको सेवा लिएका छन्।
‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत शनिबार वडा नम्बर-१ का जेष्ट नागरिकहरुले नि:शुल्क स्वास्थ्य सेवा पाएका हुन्।
शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा, दन्त रोगको नि:शुल्क परिक्षण गरिएको थियो।
जेष्ट नागरिकलाई नि:शुल्क चेकजाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो।
निरीक्षणमा पुगेका नगरप्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र अनुभवका भण्डार भएकाले उनीहरूको स्वास्थ्य, सम्मान र सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले ज्येष्ठ नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरिएको उल्लेख गरे।
“ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हाम्रो दायित्व हो। उहाँहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुँदै घर नजिकै विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयास गरेका छौं,” उनले भने, “नगरपालिकाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिँदै उहाँहरूको जीवनस्तर सुधारका लागि आवश्यक पहल गर्नेछ।”
प्रमुख कार्कीले शिविरको निरीक्षण गर्नुका साथै सेवा प्रदान गर्ने डाक्टरसहितको टोलीलाई धन्यवाद दिएका थिए। उनले ज्येष्ठ नागरिकहरुसँग कुराकानीसमेत गरेका थिए।
यस्तै वडा नम्बर १ का अध्यक्ष मकुन्द गजुरेलले निरीक्षणका क्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले यस्ता स्वास्थ्य शिविरले ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्य सचेतना अभिवृद्धिमा पनि टेवा पुर्याउने उल्लेख गरे। साथै, आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
शिविरमा विशेषज्ञसहितको उपचार गर्न पाउँदा स्थानीय बृद्धबृद्धाले खुसी व्यक्त गरेका थिए।
अस्पतालसम्म आवतजावतका लागि नगरपालिकाले सवारीसाधनको ब्यबस्था पनि गरेको थियो।
































