Skip

Hamro Sanchar

नगर अस्पतालमा एकैदिन २ सय १० महिलाको HPV DNA तथा क्यान्सर परीक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


काठमाडौं। कागेश्वरी मनोहरा नगर अस्पतालमा एकैदिन २ सय १० महिलाको HPV DNA तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिएको छ।

महिलाहरूको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले आजदेखि निःशुल्क HPV DNA परीक्षण तथा स्त्रीरोग स्वास्थ्य परीक्षण अभियान सुरु गरेको हो। अभियानअन्तर्गत वडा नम्बर–६ का २ सय १० महिलाले सेवा लिएका छन्।

शिविरमा नगर अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श प्रदान गरिएको थियो।

प्रजनन स्वास्थ्य फोकल पर्सन लक्ष्मी कोइरालाका अनुसार आगामी २०, २१ र २२ गते पनि HPV DNA परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। उक्त दिन क्रमशः वडा नम्बर ७, ८ र ९ का महिलाहरूको परीक्षण गरिनेछ। त्यसपछि वडा नम्बर १, २, ३, ४ र ५ का महिलाहरूको परीक्षण गरिने बताइएको छ।

नगरप्रमुख उपेन्द्र कार्कीले महिलाहरूको स्वास्थ्य सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै समयमै परीक्षण र सचेतनाबाट पाठेघरको मुखको क्यान्सर जस्ता जटिल रोगको जोखिम घटाउन सकिने उल्लेख गरे। उनले सबै महिलालाई निःशुल्क स्वास्थ्य शिविरको लाभ लिन आग्रह समेत गरे।

त्यसैगरी उपप्रमुख शान्ता थापाले महिलाहरूको प्रजनन स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने बताइन्। उनले नियमित स्वास्थ्य परीक्षणले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्ने भएकाले नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिइन्।

महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षणको पहुँच उपलब्ध गराई पाठेघरको मुखको क्यान्सर लगायत अन्य प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरूको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।


प्रतिकृया दिनुहोस्