Skip

Hamro Sanchar

स्वास्थ्य बिमामा गण्डकी सरकारको अनुदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते


२१ बैशाख, गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

जसमा अपांगता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् ।

जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए ।

“प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१र८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बिमा भएको हो”, उनले भने, “अपांगता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बिमाको सुविधा पाइरहनुभएको छ ।”

गण्डकी प्रदेशका एक लाख ६१ हजार ९३५ ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी संक्रमितको परिवार, अतिअशक्त अपांगता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग संक्रमितका ९० परिवार, क्षयरोग संक्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बिमामा आबद्ध छन् ।

प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताए । यो प्रदेशको कुल परिवार संख्यामध्ये ६७.०१ प्रतिशत हो ।

गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बिमा गरिएको हो । जनसंख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको जनाइएको छ ।

कुल बीमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४।०४ प्रतिशत रहेको छ


प्रतिकृया दिनुहोस्