Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगर अस्पताललाई वातावरणीय स्वीकृति, १०० शैया सञ्चालनको बाटो खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित कागेश्वरी मनोहरा नगर अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ।

मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ अनुसार तयार गरिएको उक्त प्रतिवेदन समितिको सिफारिसका आधारमा आवश्यक सर्तसहित अनुमोदन गरेको जनाएको छ। स्वीकृतिसँगै अस्पताल सञ्चालनका क्रममा वातावरणीय मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ।

१०० शैयाको अस्पताल सञ्चालनका क्रममा उत्पन्न हुने स्वास्थ्यजन्य फोहोरलाई संक्रामक र असंक्रामक रूपमा वर्गीकरण गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने, वातावरणीय प्रभाव न्यूनीकरणका उपायहरू लागू गर्नुपर्ने र नियमित अनुगमन प्रतिवेदन पेश गर्नुपर्ने सर्तहरू तोकिएका छन्।

त्यसैगरी, फोहोर पानी व्यवस्थापनका लागि ‘वेस्ट वाटर ट्रीटमेन्ट’ प्रणाली जडान गर्नुपर्ने, वर्षा पानी संकलन तथा ‘वाटर रिचार्ज पिट’ निर्माण गर्नुपर्ने, सुरक्षित खानेपानी प्रयोगका लागि सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने पनि उल्लेख गरिएको छ।

मन्त्रालयले भवन निर्माण आचारसंहिता पालना गर्न, स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न तथा विपद् जोखिम न्यूनीकरण योजना कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। सबै सर्तहरू पालना गरेर मात्र अस्पताल सञ्चालन गर्न पाइने मन्त्रालयले स्पष्ट पारेको छ।


प्रतिकृया दिनुहोस्