Skip

Hamro Sanchar

नगर अस्पतालमा आजबाट प्याथोलोजी सेवा सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ९ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित ‘कागेश्वरी मनोहरा नगर अस्पताल’ले आजबाट प्याथोलोजी सेवा सुरु गरेको छ।

सेवाग्राहीहरूलाई अझ सहज, छिटो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमै प्याथोलोजी सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ सेवासँगै अब सबै परीक्षणहरू अस्पतालमै अनुभवी प्याथोलोजिस्टबाट गरिने भएकाले सेवाग्राहीहरूले छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

यसले रोग पहिचान (डायग्नोसिस) प्रक्रियालाई अझ प्रभावकारी र तीव्र बनाउने विश्वास अस्पताल प्रशासनले लिएको छ। यसअघि केही नमुनाहरू बाह्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेकाले रिपोर्ट प्राप्त गर्न ढिलाइ हुने गरेको थियो।

अस्पतालका अनुसार, उक्त सेवा आजदेखि नियमित रूपमा सञ्चालन हुनेछ। कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. प्रमिला वैद्यले हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने छिन्।

अस्पतालले यस सेवाबाट स्थानीय बासिन्दाहरूलाई विशेष लाभ पुग्ने र समग्र स्वास्थ्य सेवाको स्तर अझ सुदृढ हुने अपेक्षा गरेको छ।


प्रतिकृया दिनुहोस्