Skip

Hamro Sanchar

मृत्युपश्चात अंग दान गर्ने दाताका परिवारले पाउने भए २ लाख रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १० गते


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् शरीरका अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अंगदान गर्ने व्यक्तिको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ मात्रै दिने व्यवस्था थियो। आइतबार मन्त्रीस्तरीय निर्णयबाट दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

यसअघि अंगदान गर्ने व्यक्तिका परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने व्यवस्था थियो। मृत्युपश्चात खेर जाने अंगदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

स्वास्थ्यमन्त्री पौडेलले दाताको परिवारलाई दुई लाख दिने निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जानकारी दिए। उनले मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय भएको बताए।

नेपालमा एक हजार मिर्गौला रोगका बिरामी र ५५ जना कलेजोका बिरामी अंग दाताको प्रतीक्षामा छन् ।


प्रतिकृया दिनुहोस्