
दोलखा, कात्तिक ४- दोलखाको मेलुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित बुद्ध चोक, भेड्पूमा शनिबार (कात्तिक १० गते) बृहत स्वास्थ्य शिविर हुने भएको हो ।
मेलुङ गाउँपालिकाको आयोजना, नेकपा (एमाले) मेलुङ्-काठमाडौं सम्पर्क मन्चको संयोजकत्व र लाइन्स क्ल्ब अफ भक्तपुर डाक्टरको प्राविधिक सहयोगमा उक्त शिविरको आयोजनमा हुने भएको हो ।
शिविरमा नि:शुल्क मुटुको इको, मुटुको इसीजी, पेट तथा मिर्गौला, भिडियो एक्सरे, दन्त रोगको चेकजाँच, आँखाको जाँच, सामान्य रगत र पिसाबको जाँच हुनेछ भने नि:शुल्क औषधि वितरण पनि गरिने छ ।
मेलुङ-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष सन्तोष आचार्यकाअनुसार उक्त स्वास्थ्य शिविरमा बिशेषज्ञसहित ३० जना डाक्टरको टोलीले सेवा दिनेछन् ।
बिहान ८ बजेदेखि संचालन हुने शिविर साँझ ५ बजेसम्म चल्ने बताइएको छ ।
गाउँपालिका अध्यक्ष हिरा थोकरले मेलुङ्बासीको स्वास्थ्यलाई ध्यानमा राखी शिविर संचालन गर्न लागिएको जानकारी दिए । अध्यक्ष थोकरले मेलुङ्बासी बुबाआमा, दाजुभाइ तथा दिदिबहिनीलाई उक्त शिविरबाट धेरैभन्दा धेरै सेवा लिएर मौकाको फाइदा उठाउन पनि आग्रह गरेका छन् ।


















