Hamro Sanchar

स्वास्थ्य मन्त्रालयले भन्यो : नेपाल पनि मंकीपक्स संक्रमणको जोखिममा छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३ गते


Advertisement

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । छिमेकी देशहरू मंकीपक्स भाइरसको संक्रमणको जोखिममा रहेकाले नेपाल पनि सतर्क रहनुपर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।

नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकीपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिँदैन,उनले भने ।

उनले मंकीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा। बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि मंकीपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

के हो मंकीपक्स ?

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।

सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ र सन् २०२२ ( २०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् ।


प्रतिकृया दिनुहोस्