
काठमाडौं, साउन ११- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा तीन दिनमा १५ हजार ६ सयभन्दा बढी बालबालिकालाई पोलियो थोपा खुवाइएको छ ।
बुधबारदेखि संचालन गरिएको पोलियो थोपा खुवाउने अभियान अन्तर्गत शुक्रबारसम्म १५ हजार ६ सय ८३ जना बालबालिकालाई पोलियो थोपा खुवाइएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख तुलाजा लामाले हाम्रोसंचारलाई जानकारी दिइन् । उनकाअनुसार नगरका विद्यालय र टोल टोलमा पुगेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत ५ वर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने कार्य शनिबार सम्म रहने छ ।
स्वास्थ्य शाखाका अनुसार पहिलो दिन ७ हजार ९ सय १८ जनालाई पोलियो थोपा खुवाइएको छ भने दोस्रो दिन ४ हजार ४ सय ३० जना र तेश्रो दिन ३ हजार ३ सय ३५ जनालाई पोलियो खोप खुवाइएको हो ।
नगरपालिकाले १२ हजार ४ सय ३० जना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य राखेकोमा तीन दिनमै १५ हजार ६ सय ८३ जनालाई खुवाई सकिएको खोप फोकल फर्सन ज्ञान बहादुर महतले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बुधबारबाट ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।
नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।
पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ?
मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन (OPV) – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन (IPV) – २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )
पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ?
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ ।
यस खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनु पर्दछ ।





















