
काठमाडौं, जेठ १८- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा देखिएका समस्याहरू अध्ययन गर्न विशेष समिति गठन गरेको छ ।
सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यी समस्यालाई हल गर्न स्वास्थ्यमन्त्री प्रदीप यादवले तीन सदस्यीय समिति गठन गरेका हुन् ।
शुक्रबार मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी तीन सदस्यीय समिति गठन गरेका हुन् ।
उक्त अध्ययन समितिमा डा. मदन कुमार उपाध्याय सदस्य रहेका छन् भने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।
समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन पेश गर्न मन्त्री यादवले निर्देशन दिएका छन् । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गर्नेछ ।
संघीय अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको मन्त्री यादवले बताए ।
अनुगमनका क्रममा बिरामीले शल्यक्रियाका लागि के–कस्ता कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिने छ ।
त्यस्तै, समितिले अस्पतालबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपिडी सेवा हेर्ने चिकित्सकको सङ्ख्या, उनीहरुले दैनिक रूपमा हेर्ने बिरामीको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि संकलन गर्नेछ ।
अस्पतालहरूमा बिरामीको चाप, जनशक्ति, साधन स्रोत एवं अन्य पूर्वाधारहरुको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवं गुणस्तरीय रुपमा प्रवाह गर्न सुझाव पेश गर्ने जिम्मेवारी पनि समितिलाई छ ।
मन्त्री यादवले समितिलाई समस्याको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन (तीन महिना भित्र गर्न सकिने), मध्यकालीन (एक वर्ष भित्र गर्न सकिने), र दीर्घकालीन (पाँच वर्ष भित्र गर्नुपर्ने) कार्य योजना तयार पारी पेस गर्न पनि निर्देशन दिएका छन् ।


















