
काठमाडौं, बैशाख ८- कागेश्वरी मनोहरा नगरपालिका-८ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको हो ।
शिविरबाट २ सय ज्येष्ठ नागरिकहरुले विशेषज्ञसहितको स्वास्थ्य सेवा लिएका छन् । शिविरमा गंगालाल अस्पतालबाट कार्डियोलोजीष्टको टीम आएको थियो भने मनोसामाजिक परामर्श, हेमोग्लोबिन् टेष्ट र आँखा जाँचका लागि बिशेषज्ञ डाक्टरहरु उपलब्ध गराइएको थियो ।
शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा, दन्त रोग र नि:शुल्क स्वास्थ्य विमा लगायतका सेवाहरु उपलब्ध गराइएको थियो ।
१४६ जनाको सुगर जाँच गराइएकोमा २९ जनालाई मात्र सुगर पोजेटिभ देखिएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख तुलाजा लामाले जानकारी दिइन् । शाखा प्रमुख लामाकाअनुसार शिविरमा १ सय ३३ जनाको आँखा जाँच गरिएकोमा ३८ जनालाई चस्मा वितरण गरिएको छ भने २८ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने देखिएको छ । मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा नगरपालिकाकै सहयोगमा नि:शुल्क अप्रेसन गराइने छ ।
शिविरमा मनोमरामर्श ११ जना, इको ५१ जना, डेन्टलमा करिव १४० जनाले सेवा लिएका शहरी स्वास्थ्य सेवा प्रमुख गणेश दाहालले जानकारी दिए ।
बिरामीलाई नि:शुल्क चेकजाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो ।
शिविरलाई सम्बोधन गर्दै वडाअध्यक्ष हरिभक्त पुडासैनीले ज्येष्ठ नागरिकको हक, हितका लागि सिंगो नगरपालिका लागि परेको बताए । ज्येष्ठ नागरिकको सम्मान स्वरूप मेयरसँग ज्येष्ठ नागरिक नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिएको अध्यक्ष पुडासैनीले जानकारी दिए ।
शिविरको मेयर उपेन्द्र कार्कीले निरीक्षण गर्नुका साथै सेवा प्रदान गर्ने डाक्टरसहितको टोलीलाई धन्यवाद दिएका थिए । उनले ज्येष्ठ नागरिकहरुसँग कुराकानीसमेत गरेका थिए । मेयर कार्कीले स्वास्थ्य जस्तो संबेदनशील बिषयमा हेलचेक्र्याइँ नगर्न र गुणस्तरीय औषधी वितरण गर्न सम्बन्धित शाखालाई निर्देशन दिएका थिए । मेयर कार्कीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएकाले जेष्ठ नागरिको कुरा सुन्ने, बुझ्ने र झर्को नमानी सेवा प्रदान गर्न अनुरोध गरेका थिए ।
शिविरमा विशेषज्ञसहितको उपचार गर्न पाउँदा स्थानीय बृद्धबृद्धाले खुसी व्यक्त गरेका थिए ।
स्वास्थ्य सेवा कार्यक्रम वडा कार्यालय परिसर तथा शहरी स्वास्थ्य केन्द्र भवन तेजविनायकमा बिहान १० बजदेखि ४ बजेसम्म संचालन भएको थियो ।
तस्बिरहरु-



























