Hamro Sanchar

मेलुङमा नि:शुल्क आँखा शिविर : एक हजारलाई सेवा प्रदान, ५० जना विरामीको अप्रेसन

प्रदिप नेपाली प्रकाशित : २०८० फागुन, २९ गते


Advertisement

दोलखा, फागुन २९- दोलखाको मेलुङ गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लव अफ दोलखा, दोलखा लायन्स आँखा केन्द्र र मेलुङ गाउँपालिकाको संयुक्त आयोजनामा गत २० गतेदेखि संचालन भएको नि:शुल्क आँखा शिविर आज सम्पन्न भएको हो ।

७ वटा वडा रहेको गाउँपालिकाका एक हजारभन्दा बढी आँखाका विरामीले विभिन्न प्रकारका सेवा लिएका छन् ।

गाउँपालिकाले गत २० गतेबाट प्रत्येक वडामा शिविर संचालन गरेको थियो । उक्त शिविरबाट एक हजारभन्दा बढी आँखाका बिरामीले सेवा लिएका थिए । जसमध्ये ४७ जनाको मोतियाबिन्दु र ३ जनाको आँखामा मासु पलाएको गरि ५० जनाको अप्रेसन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले जानकारी दिए ।

उनीहरुको त्रिभुवन मावि मेलुङमा सोमबार र मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्ररोग विशेषज्ञ रिना बज्रचार्यको टोलीले अप्रेसन गरेको हो ।

अप्रेसन गर्नुपर्ने विरामीलाई गाउँपालिकाको सहयोगमा प्रत्येक वडाबाट शिविर संचालन हुने स्थान त्रिभुवन माविसम्म ल्याउन र अप्रेसन पश्चात् घरसम्म पुर्याउन सवारीसाधनको ब्यबस्था गरिएको गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले जानकारी दिए । विरामीहरुलाई २ दिनसम्म बस्ने र खाने व्यवस्था पनि गरिएको उनले बताए ।

विरामीहरु अप्रेसनपछि आँखा देख्न पाउँदा र गाउँपालिकाबाट यस्तो सहयोग पाएपछि खुसी भएका छन् ।


प्रतिकृया दिनुहोस्