काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालमा साउन महिनामा मात्रै २५ हजार ७२३ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालको साउन महिनाभरको तथ्यांकअनुसार सामान्य सेवातर्फ ९ हजार ९३९ जना र स्वास्थ्य बीमामार्फत १५ हजार ७८४ जना सेवाग्राहीले सेवा लिएका हुन्।
यसरी तथ्यांक हेर्दा पछिल्लो समय अस्पतालमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ।
अस्पतालको विवरणअनुसार साउन महिनामा ११२ जना बिरामीले Inpatient तथा HCU सेवा समेत लिएका छन्। समग्र तथ्यांकले अस्पतालमा स्वास्थ्य बीमामार्फत सेवा लिने सेवाग्राहीको संख्या सामान्य सेवाग्राहीको तुलनामा बढी रहेको देखाएको छ।
विभागगत रूपमा हेर्दा सामान्य बहिरंग विभागमा सबैभन्दा बढी सेवाग्राही पुगेका छन्। उक्त सेवामा सामान्यतर्फ १ हजार ९०४ र स्वास्थ्य बीमातर्फ ५ हजार १०२ जना गरी कुल ७ हजार ६ जना सेवाग्राहीले सेवा लिएका छन्।
त्यस्तै ल्याव सेवामा सामान्यतर्फ १ हजार ९४८ र बीमातर्फ ४ हजार ५४४ गरी ६ हजार ४९२ जना सेवाग्राही पुगेका छन्।
हाडजोर्नी सम्बन्धी सेवामा ५९६ सामान्य र २ हजार ८६३ बीमा गरी ३ हजार ४५९ जना तथा फिजियोथेरापी सेवामा मात्रै सामान्यतर्फ २ हजार ३१९ जना सेवाग्राहीले सेवा लिएका छन्।
त्यसैगरी दाँतको ओपीडीमा ४८६ सामान्य र ६३७ बीमा, नाक, कान र घाँटीमा ३५२ सामान्य र ५९९ बीमा, प्रसूति तथा स्त्रीरोगमा ७७१ सामान्य र ८९८ बीमा तथा आन्तरिक चिकित्सामा ३४६ सामान्य र ८४० बीमा सेवाग्राहीले सेवा लिएका छन्।
परीक्षण सेवातर्फ पनि सेवाग्राहीको उल्लेख्य चाप देखिएको छ। युएसजीमा ५०६ सामान्य र १ हजार १८२ बीमा तथा एक्स-रेमा ७५० सामान्य र १ हजार ७४९ बीमा सेवाग्राहीले सेवा लिएका छन्। ईसीजी सेवामा ३६० सामान्य र ८३९ बीमा सेवाग्राही पुगेका छन्।
अस्पतालले गर्भावस्थाको जाँच (ANC), खोप, डट्स (DOTS), पोषण र जनावरको टोकाइ लगायतका केही सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।
साउन महिनाको तथ्यांकले कागेश्वरी मनोहरा नगर अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको देखाएको छ। विशेषगरी स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या उल्लेख्य हुनुले बीमा कार्यक्रमअन्तर्गत नगर अस्पतालबाट उपचार तथा स्वास्थ्य सेवा लिन नागरिकको पहुँच बढिरहेको संकेत गरेको छ।





























