Skip

Hamro Sanchar

रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै  प्रदेशमा पठाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।

विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्‍याइएको बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप र औषधि अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।

रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रमा पुगिसकेको विभागले जनाएको छ ।

खोप सबैभन्दा बढी वाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । वाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ । सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति गरिएको छ ।

मधेस प्रदेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार ५०० र रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ ।

मागका आधारमा अरू प्रदेशमा पनि भ्याक्सिन र भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।


प्रतिकृया दिनुहोस्