१७ कार्तिक, डोल्पा । डोल्पा कारागारबाट भागेका कैदीको खोजीमा जुटेको प्रहरीलाई सफलता मिलेको छ।
सुरुङ खनेर फरार भएका ८ जनामध्ये दुई जना रुकुम पश्चिममा फेला परेका छन्।
आज बिहान आठबिसकोट नगरपालिका–६ दामाचौरको खोली बगरमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिप जाँच गर्ने क्रममा भाग्न खोजेपछि दुवैलाई समातिएको थियो।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० निवासी ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जना जबर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका कैदी हुन्।
प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हाल दुवैलाई गोतामकोट प्रहरी चौकीमा राखिएको छ। गत कात्तिक १४ गते बिहान डोल्पाको ठूलीभेरीस्थित जिल्ला कारागारबाट आठ जना कैदी सुरुङ खनेर भागेका थिए। पक्राउ परेका दुई जनाबाहेक बाँकी छ जनाको खोजी जारी छ।
























