आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुलपानी नगर अस्पतालमा अत्याधुनिक ल्याब संचालन हुँदै, भयो दुइ पक्षबीच सम्झौता

प्रदिप नेपाली प्रकाशित : २०८० चैत्र, २० गते


Advertisement

काठमाडौं, चैत २०- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित वडा नम्बर ६ मा रहेको मुलपानी नगर अस्पतालमा अत्याधुनिक सेवासहितको ल्याब संचालन हुने भएको छ । ल्याब संचालनका लागि नगरपालिका र श्री सेरो डाइनोस्टीक ट्रेडर्स नेपाल प्रालि ललितपुरबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार श्री सेरो डाइनोस्टीक ट्रेडर्स नेपाल प्रालि ल्याब संचालन गर्न आवश्यक Johnson and Johnson कम्पनिको अत्याधुनिक मेशिनरी तथा उपकरण उपलब्ध गराउने छ ।

सम्झौताअनुसार नगर अस्पतालमा बायोकेमेस्ट्री, हेमाटोलोजी, coagulation analyzer, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी लगायत सेवा बिस्तारका क्रममा आवश्यकता अनुसार सेवाहरु विस्तार गर्दै जानु पर्नेछ । उक्त सेवा सम्झौता भएको ६० दिनभित्र विस्तार गरिसक्नुपर्ने छ ।

ल्याबमार्फत आधुनिक प्रविधिबाट थाइराइड, भिटामिन डी, भिटामिन बी १२, बाथ, युरिक एसिडको परीक्षण हुनेछ । साथै सबै प्रकारका ल्याब परीक्षणहरुलाई अटोमेटिकरुपमा थप गुणस्तरीय बनाउन अत्याधुनिक प्रविधियुक्त मेसिनहरु जडान गरिने छ । सम्झौतापत्रमा मेयर उपेन्द्र कार्की र कम्पनी संचालक किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ल्याब संचालन पश्चात् सेवाग्राहीहरु गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहबाट लाभान्भित हुने र ठुला-ठुला प्राइभेट अस्पतालमा जानुपर्ने बाध्यता हट्ने मेयर कार्कीले बताए । हाम्रोसंचारसँग कुरा गर्दै मेयर कार्कीले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुबिधा सम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवासुविधा पहुँच टोलटोलमा पुर्याउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।

अस्पतालमा हाल चौबिसै घण्टा ८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष संचालन भैरहेको छ । अस्पतालमा रेड जोन २, एल्लो जोन ३ र ग्रीन जोन ३ गरी ८ वेडको क्षमताको आकस्मिक कक्ष रहेको छ । आकस्मिक कक्षमा दैनिक विशेषज्ञ डाक्टर, प्यारामेडिक र नर्सले चौबिसै घण्टा सेवा दिईरहेका छन् ।

आकस्मिक कक्षमा २ वटा मोनिटर, वाल अक्सिजन सप्लाई सहितको इमर्जेन्सी सेवा प्रदान हुँदै आएको छ ।

अस्पतालमा विशेषज्ञ सेवा अन्तर्गत सार्वजनिक बिदा बाहेक हरेक दिन इन्टरनल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ सेवा, नाक, कान, घाँटी विशेषज्ञ (आइतबार, बुधबार र शुक्रबार), मनोरोग विशेषज्ञ (सोमबार, बुधबार र शुक्रबार), रेडियोलोजी हरेक बिहान र बेलुका २ घण्टा, फिजियोथेरापी सार्वजनिक बिदा बाहेक हरेक दिन सेवा प्रदान हुँदै आएको छ भने मनोपरामर्स सेवाका साथै अस्पतालमा २ वटा ओपिडी सेवा, ल्याव, एक्सरे तथा भिडियो एक्सरे, अर्थोपेडिक, इएन्टी सेवा,  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरसँग समन्वय गरी आँखा उपचार केन्द्र संचालन हुँदै आएको अस्पताल ब्यबस्थापक प्रज्ञा पाण्डेले हाम्रोसंचारलाई जानकारी दिइन् ।

यसका साथै चौबीसै घण्टा प्रसुती सेवा, एम्बुलेन्स, शववाहन सेवा, परिवार नियोजन सेवा प्रदान गर्दै आइरहेको छ । साथै चौबिसै घण्टा स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आइरहेको छ । यी सबै सेवाहरु न्युनतम मुल्य अर्थात् वीर अस्पतालकाे दरमा उपलब्ध हुनेछ ।

नगर अस्पतालमा हाल ओपिडीमा दैनिक ३ सयभन्दा बढी र इमर्जेन्सीमा २५ देखि ३० जनाले स्वास्थ्य सेवा लिइरहेका छन् ।


प्रतिकृया दिनुहोस्