Skip

Hamro Sanchar

निरास हुँदै अमेरिका फर्किए धुर्मुस, भने : ‘आफ्नै देशमा आवाज बेवारिसे भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौँ । हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि छोरीसहित पुनः अमेरिका फर्किएका छन्।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा लागेको ऋण फर्छ्यौट र राज्यबाट सहयोगको अपेक्षासहित नेपाल आएका उनी निरा हुँदै अमेरिका फर्किएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कट्टेलले राज्यबाट न्याय र सहयोग नपाएको गुनासो गरेका छन्।

दुई महिनाको अवधिमा राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि अथक प्रयास गरे पनि आफ्ना पीडा सुनाउने अवसरसम्म नपाएको उनले बताएका छन्।

भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँ बजेटसमेत ‘फ्रिज’ हुने अवस्थामा पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

“१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,” उनले लेखेका छन्, “आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।”

१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा पनि राज्यबाट प्रोत्साहन नमिलेको भन्दै उनले मन भारी भएको उल्लेख गरेका छन्।

यद्यपि, कुनै दिन राज्यले आफ्नो योगदान सम्झिने र सत्यको जित हुने आशा भने अझै जीवितै रहेको उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्