Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘मलाई बाँच्न दिनुस्’ भन्दै भावुक भइन् गायिका एलिना चौहान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषयलाई पटक–पटक समाचारको विषय बनाइदिन नहुने भन्दै सञ्चारकर्मी तथा मिडियाकर्मीहरूसँग आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत भावुक हुँदै चौहानले आफू विगतका पीडा र घटनाबाट धेरै अगाडि बढिसकेको बताएकी छन्।

पुराना घटना, तस्बिर तथा सम्बन्धलाई जोडेर समाचार बनाउँदा आफूले बिर्सन खोजेका पुराना घाउहरू फेरि बल्झिने उनको भनाइ छ।

‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्’ भन्दै उनले आफ्नो विगतलाई वर्तमानको परिचय नबनाइदिन आग्रह गरेकी छन्।

चौहानले विगत आफ्नो जीवनको एउटा अध्याय मात्र भएको उल्लेख गर्दै त्यसलाई पटक–पटक दोहोर्‍याएर आफ्नो आजको पहिचानसँग जोड्न आवश्यक नरहेको बताएकी छन्।

आफ्नो पहिचान बनाउन आफूलाई कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको पनि उनले स्पष्ट पारेकी छन्। विगतसँग जोडिएका नाम तथा सम्बन्धलाई बारम्बार उठाएर आफ्नो परिचय बनाउने प्रयास नगर्न उनले आग्रह गरेकी छन्।

त्यस्तै, आफूविरुद्ध भ्रामक तथा आत्मसम्मानमा आँच पुर्‍याउने किसिमका समाचार तथा सामग्री प्रकाशित वा प्रसारित भइरहे आवश्यक परे कानुनी बाटोमा जाने चेतावनीसमेत चौहानले दिएकी छन्।

‘विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन’ भन्ने भावसहित उनले सञ्चारमाध्यमलाई आफ्नो वर्तमानलाई सम्मान गरिदिन आग्रह गरेकी छन्।


प्रतिकृया दिनुहोस्