Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महासभामा नेतन्याहुको सम्बोधनअघि प्रदर्शन, हलिउडका दुई अभिनेत्री पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुअघि भएको विरोध प्रदर्शनका क्रममा हलिउडका दुई अभिनेत्री पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’की अभिनेत्री ह्याना आइनबिन्डर रहेका छन्।

एफपीको फुटेजअनुसार नेतन्याहुको सम्बोधनको तयारी भइरहेका बेला प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरीका अधिकारीहरूले नियन्त्रणमा लिएका थिए।

‘ज्युइश भ्वाइस फर पिस’ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको न्युयोर्क पोस्टलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। पक्राउबारे प्रतिक्रिया लिन खोज्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ नदिएको उल्लेख छ।

प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लगायतका नारासहितका ब्यानर प्रदर्शन गरेका थिए।

यसैबीच, नेतन्याहुले महासभामा सम्बोधन सुरु गर्दा दर्जनौँ देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका थिए। सम्बोधनका क्रममा उनले इजरायलको आलोचना गर्ने मित्र तथा शत्रु राष्ट्रप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बेलायत र फ्रान्सको निर्णयको पनि आलोचना गरेका थिए।

सारन्डन गाजामा इजरायलको युद्धविरुद्धका प्रदर्शनमा सहभागी हुँदै आएकी छन्। उनले यसै महिना भेनिस फिल्म फेस्टिभलमा आफ्ना राजनीतिक अभिव्यक्तिका कारण चलचित्र क्षेत्रमा काम गुमाइरहेको बताएकी थिइन्। साथै, उनले केही एजेन्सीहरूले आफूलाई काम नदिन आग्रह गरेको र चलचित्र क्षेत्रमा ‘जायोनिस्टहरूको बलियो प्रभाव’ रहेको दाबी गरेकी थिइन्।


प्रतिकृया दिनुहोस्