काठमाडौं । प्रयासना गुरूङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्।
काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा आइतबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा गुरूङले विजेताको ताज पहिरिएकी हुन्।
बेलायतमा बस्दै आएकी गैरआवासीय नेपाली गुरूङ महिला सशक्तीकरणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा सक्रिय रहँदै आएकी छन्।
सोही समारोहमा ‘मिस अर्थ नेपाल २०२६’ को विजेताको पनि घोषणा गरिएको थियो। उक्त उपाधि विनिता ओलीले जितेकी छन्।
प्रतियोगिताको ग्रान्ड फिनालेमा पूर्व ‘मिस युनिभर्स इन्डिया’ तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायकको भूमिकामा रहेकी थिइन्।
यसअघि ‘मिस अर्थ’ प्रतियोगिता ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गर्दै आएको थियो।
केही वर्षअघि द हिडन ट्रेजरले यसको आयोजना छाडेपछि अहिले ‘मिस युनिभर्स नेपाल’को इजाजत प्राप्त संस्थाले नै ‘मिस अर्थ’ आयोजना गरेको हो।
































