काठमाडौं । रोयल इन्फिल्डको चर्चित सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा काठमाडौंमा आयोजना हुने भएको छ।
आगामी डिसेम्बर १२ मा भृकुटीमण्डपमा हुने महोत्सवमा नेपाल र भारतका कलाकारले सांगीतिक प्रस्तुति दिनेछन्।
महोत्सवको मुख्य आकर्षण भारतीय चर्चित र्यापर डिभाइन रहनेछन्। उनीसँगै नेपाली र्यापर साकार तथा कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीलगायतका कलाकारले प्रस्तुति दिनेछन्।
संगीतसँगै स्केटबोर्डिङ, बीएमएक्स, बास्केटबल, फ्रिस्टाइल फुटबल, फेसन, कला तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन हुनेछन्। लाखे नाच, भैरव तथा काली नृत्य र परम्परागत मुखौटा निर्माणजस्ता नेपाली सांस्कृतिक प्रस्तुतिसमेत महोत्सवमा समेटिनेछन्।
दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ। टिकट मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ।

























