बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर सुरु भएको विवादले आज हिंसात्मक रूप लिएको छ।
दुई पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक स्थानीय बालक घाइते भएका छन्।
शनिबार बिहान करिब १०ः३० बजे सुरु भएको विवाद चर्किँदै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
स्थिति नियन्त्रणमा लिने क्रममा चलाइएको गोली लागेर बालक घाइते भएका हुन्। घटनाको पुष्टि बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले गरेका छन्।
झडपका क्रममा केही प्रहरी तथा अन्य व्यक्तिसमेत घाइते भएका छन्। आक्रोशित प्रदर्शनकारीले अस्पताल भवनबाहिर टायर बालेर प्रदर्शन गर्नुका साथै करिब एक दर्जन मोटरसाइकलमा आगजनी गरेका छन्।
अस्पताल उद्घाटनको विषयले सुरु भएको विवादले उग्र रूप लिएपछि फेटा क्षेत्र तनावग्रस्त बनेको थियो।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार अहिले भने अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको छ।
अस्पताल उद्घाटनको विवादले हिंसात्मक रूप लिँदा बालक घाइते हुनुका साथै सार्वजनिक क्षेत्रमा आगजनीसमेत भएको घटनाले स्थानीय सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

























