१३ असोज, काठमाडौं । वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ।
गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा पाँच दशकभन्दा लामो योगदान पुर्याएको भन्दै शाहलाई एक लाख ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो।
समारोहमा विभिन्न विधाका अन्य स्रष्टा तथा पत्रकारलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, अग्रज गीतकारका १० वटा कालजयी गीत प्रत्यक्ष सङ्गीतसहित प्रस्तुत गरिएको थियो।
सङ्घले कार्यक्रमका लागि छुट्याइएको रकममध्ये एक लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ।
’
































