
१४ जेठ, काठमाडौं । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको निर्देशन चलचित्र ‘सेप अफ मोमो’ भोलिदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
चलचित्रले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ । चलचित्रले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ ।
चलचित्रमा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन् ।
चलचित्रको छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् । सम्पादन अनिल आलायम र किस्लेले गरेका छन् । ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको छ ।
यो चलचित्र ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ ।




























