
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफू विघटन भएको भन्ने हल्ला पूर्ण रूपमा निराधार रहेको स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको उक्त सूचना भ्रामक रहेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
संगठनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विद्यार्थी राजनीतिमा फरक–फरक विचारधारा बोकेका अन्य संगठनहरूसँग प्रतिस्पर्धात्मक रूपमा संगठन निरन्तर सक्रिय रहँदै आएको छ। विघटनसम्बन्धी कुनै पनि निर्णय नभएको स्पष्ट पार्दै संगठनले यस्ता अफवाहहरूले अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरेको छ।
वैचारिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निकट सम्बन्ध राख्ने उक्त संगठनले वर्तमान राजनीतिक अवस्था, पार्टीको धारणा तथा राष्ट्रवादी विद्यार्थीहरूको भावना समेट्दै आगामी रणनीति तय गरिने जनाएको छ। यसका लागि केन्द्रीय कार्यसमितिको बैठकले छिट्टै कार्यदिशा निर्धारण गर्ने तयारी गरिएको छ।
अन्त्यमा संगठनले राष्ट्रिय एकता र विद्यार्थीबीच सहकार्य सुदृढ बनाउने आह्वान गर्दै “जय राष्ट्रवाद” र “विद्यार्थी एकता जिन्दावाद” भन्ने नारासहित आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।














