Hamro Sanchar

प्रसादका रूपमा मासु खाँदा अर्घाखाँचीमा ३५ जना बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १३ गते


Advertisement

अर्घाखाँची, कात्तिक १३- अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ पुगेको छ ।

सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए ।

प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् ।

अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताएका छन् । उनीहरू सबैको अवस्था सामान्य छ ।

आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा.तिवारीले जानकारी दिए।

बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । एकजनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए।

दुईजना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्