Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगर अस्पतालमा थप १० बेड, अपरेशन थिएटर सञ्चालनको तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पतालको सेवा तथा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको छ। हाल थप १० वटा बेड विस्तार गरी जनरल वार्ड सञ्चालनमा ल्याएसँगै अस्पतालमा कुल बेड संख्या ६० पुग्ने भएको छ।

बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै अस्पतालमा अपरेशन थिएटर निर्माण तथा सञ्चालनको प्रक्रिया समेत अघि बढाइएको छ। अपरेशन थिएटरका लागि टेन्डर भइसकेको र आवश्यक तयारी पूरा भएपछि सबै खालका अपरेशन सेवा क्रमशः सुरु गर्ने तयारी रहेको अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले जानकारी दिए। प्रारम्भिक तयारीअनुसार आगामी मङ्सिरसम्ममा अपरेशन थिएटर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बुझिएको छ।

अस्पतालमा बिरामीको चाप पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २५ हजार ७२३ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्।

१०० शय्याको स्वीकृति प्राप्त नगर अस्पतालका रूपमा रहेको कागेश्वरी मनोहरा नगर अस्पतालमा क्रमशः सेवा, सुविधा तथा पूर्वाधार विस्तार गर्दै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको छ।

बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्दै अस्पतालको सेवा क्षमता विस्तारमा विशेष प्राथमिकता दिइएको छ।


प्रतिकृया दिनुहोस्