Skip

Hamro Sanchar

अबदेखि अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

३० साउन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ ।

बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाईसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिनेछ ।

बोर्डका प्रवक्ता डा। पवनकुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बीमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिए । ‘हामीले बीमामा आबद्ध हुनका लागि अनलाइनामार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छौँ’, उनले भने, ‘अबदेखि दर्ता सहयोगीविना बीमा आबद्धता, नवीकरणलगायत सबै काम हुन्छन् ।’

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइनमार्फत बीमा आबद्धता र नवीकरण गर्न सुरु गरिएको प्रवक्ता शाहले बताए । उनका अनुसार यसका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त प्रणालीमार्फत व्यक्ति स्वयम्‌ले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सक्नेछन् ।

अहिले बीमामा ५९ लाख ७० हजार ४०३ जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि ३ हजार ५०० बराबरको योगदानको आधारमा १ लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।

थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । यस्तै, आठ प्रकारका कडा रोगमा १ लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।


प्रतिकृया दिनुहोस्