
काठमाडौं। महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको HPV DNA (ह्युमन प्यापिलोमा भाइरस) स्क्रिनिङ अभियानअन्तर्गत ३ हजार ६ सय ४५ जना महिलाको परीक्षण गरिएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाले उपप्रमुख प्रजनन स्वास्थ्य कार्यक्रमअन्तर्गत गत जेठ १३ गतेदेखि सञ्चालन गरेको अभियानमा नगरपालिकाका ९ वटै वडाका महिलाको HPV DNA परीक्षण गरिएको हो। अभियानका क्रममा महिलाको स्वास्थ्य परीक्षण, स्तन जाँच, रक्तचाप (ब्लड प्रेसर) मापन तथा आवश्यक स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको सहयोगमा संकलित नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भइरहेको छ। प्रजनन स्वास्थ्य फोकल पर्सन लक्ष्मी कोइरालाका अनुसार हालसम्म १ हजार ३ सय ८९ जनाको प्रयोगशाला रिपोर्ट प्राप्त भइसकेको छ।
प्राप्त रिपोर्टअनुसार १४२ जनामा HPV संक्रमण (पोजेटिभ) पुष्टि भएको छ। ती महिलालाई नगर अस्पतालमार्फत थप परीक्षण, परामर्श तथा आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। बाँकी नमुनाको परीक्षण तथा रिपोर्ट आउने क्रम जारी रहेको छ।
HPV संक्रमण पुष्टि भएका महिलामा आवश्यकताअनुसार VIA (Visual Inspection with Acetic Acid) परीक्षण पनि गरिन्छ। VIA पोजेटिभ देखिनुले पाठेघरको मुखमा असामान्य वा शंकास्पद कोषहरूको संकेत देखिन सक्ने भएकाले थप परीक्षण तथा उपचार आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन्।
नगरपालिकाका अनुसार HPV संक्रमणको समयमै पहिचान र आवश्यक उपचारले पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।































