
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरमा ३ जनामा क्षयरोग पुष्टि भएको छ।
नगरपालिकाको सहकार्यमा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले आयोजना गरेको शिविरमा ३ सय १७ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाकी क्षयरोग संयोजक कञ्चन श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार पुष्टि भएका ३ जनामध्ये २ जनामा फोक्सोको सर्ने क्षयरोग र १ जनामा ग्रन्थीको नसर्ने क्षयरोग देखिएको छ।
परीक्षणका क्रममा थप १७ जना क्षयरोगका शंकास्पद बिरामी पनि भेटिएका छन्। उनीहरूको खकारको नमुना GeneXpert परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
क्षयरोगको समयमै पहिचान र उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नगरवासी इच्छुक सर्वसाधारणका साथै विशेषगरी कलकारखानामा कार्यरत श्रमिक, प्रहरी तथा सुरक्षा निकायका कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, क्यान्टिनका कर्मचारी, सार्वजनिक सम्पर्कमा रहने सेवा प्रदायक तथा व्यापारी वर्गको निःशुल्क परीक्षण गरिएको थियो।
शिविरमा जन्त्रका विशेषज्ञ चिकित्सक तथा रेडियोग्राफरसहितको टोली परिचालन गरिएको थियो। कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित डिजिटल एक्स–रे प्रविधिबाट छातीको परीक्षण गरी चिकित्सकले तत्काल रिपोर्ट र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराएका थिए।
कार्यक्रमको निरीक्षण गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले यस्ता स्वास्थ्य परीक्षण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिएका थिए।
स्वास्थ्य विज्ञका अनुसार क्षयरोग हावामार्फत सर्ने संक्रामक रोग हो। संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा जीवाणु हावामा फैलिन सक्छ। समयमै परीक्षण र नियमित उपचार गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ।































