Skip

Hamro Sanchar

कागेश्वरी मनोहरामा मंगलबार निःशुल्क टिबी परीक्षण, एआई प्रविधिबाट तत्काल रिपोर्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


कागेश्वरी मनोहरा ५ मा भोलि निःशुल्क टिबी परीक्षण, एआई प्रविधिबाट तत्काल रिपोर्ट

काठमाडौं । क्षयरोग (टिबी) को समयमै पहिचान र उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले मंगलबार वडा नं. ५ मा निःशुल्क टिबी परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कार्यक्रममा एआई (कृत्रिम बुद्धिमत्ता) मा आधारित डिजिटल एक्स–रे प्रविधिबाट छातीको परीक्षण गरिनेछ। परीक्षण सकिएलगत्तै चिकित्सकले एक्स–रेको विश्लेषण गरी तत्काल रिपोर्ट तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्ने व्यवस्था गरिएको जनाइएको छ।

सोमबार आयोजित कार्यक्रममा जन्त्रकी ज्योति पन्तले टिबीका सम्भावित बिरामीलाई प्रारम्भिक अवस्थामै पहिचान गरी प्रभावकारी उपचारमा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइन्। उनले नगरवासी तथा इच्छुक सर्वसाधारण र बिशेष गरि कलकारखानामा कार्यरत श्रमिक, प्रहरी तथा सुरक्षा निकायका कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, क्यान्टिनका कर्मचारी, सार्वजनिक सम्पर्कमा रहने सेवा प्रदायक तथा व्यापारी वर्गका व्यक्ति निःशुल्क परीक्षणको अवसरको उपयोग गर्न आग्रह गरिन्।

कार्यक्रममा जन्त्रका विशेषज्ञ चिकित्सक र रेडियोग्राफरसहितको टोली खटिनेछ।

करिब ३०० जनाको परीक्षण गर्ने लक्ष्य राखिएको यस कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।

वडा नं. ५ का वडासदस्य सुशान्त श्रेष्ठ र नगर कार्यपालिका सदस्य गोमाले पनि टिबीको प्रारम्भिक पहिचानले रोग नियन्त्रण र सफल उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी हुन अनुरोध गरेका छन्।

स्वास्थ्य विज्ञका अनुसार क्षयरोग हावामार्फत सर्ने संक्रामक रोग हो। संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा जीवाणु हावामा फैलिन सक्छ र अर्को व्यक्तिको फोक्सोसम्म पुग्न सक्छ। समयमै परीक्षण र नियमित उपचारले क्षयरोग पूर्ण रूपमा निको हुन सक्ने भएकाले लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ।


प्रतिकृया दिनुहोस्