
१४ असार, टीकापुर (कैलाली) । एचआईभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरू बताउँछन् ।
लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउँछिन् ।
लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर सञ्चालनमा छ तर त्यहाँ गए समाजमा पहिचान खुल्ने भएकाले टीकापुर आउने गरेको उनले बताइन् । श्रीमान् एचआईभीकै कारण बित्नुभयो, मलाई त केही भएको छैन भनेकी छुु, उनले भनिन्, थाहा पाएमा समाजले सरसापटी पनि गर्दैनन्, त्यसैले आफन्तको घर जाँदैछु भनेर टीकापुर अस्पतालमा आएर सेवा लिन्छु ।
टीकापुर अस्पतालमा लम्कीचुहा नगरपालिकाका मात्रै १६२ एचआईभी सङ्क्रमित उपचारका लागि आउने गरेका छन् । टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट ५३१ एचआईभी सङ्क्रमितले सेवा लिइरहेका छन् । अस्पतालबाट एआरटी सेवा लिने एचआईभी सङ्क्रमितमा २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ जना बालबालिका छन् ।
अघिल्लो वर्षसम्म यो सङ्ख्या नौ सयसम्म थियो । बसाइँसराइ तथा अन्य पालिकामा पनि एआरटी सेन्टर खुलेपछि केही बिरामी अर्को पालिकाबाट औषधि सेवन गर्न थालेका छन् ।
सेन्टरमा कैलालीका नौ पालिका, बर्दिया र सुर्खेतका बिरामीले सेवा लिने गरेका छन् । यहाँबाट सेवा लिने टीकापुरका १३९ जना छन् भने अरू बिरामी अन्य पालिकाका हुन् । एचआईभी सङ्क्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरैले लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपाल ९एएचएफ० नेपालले जनाएको छ ।
टीकापुर अस्पतालमा सेवा लिन आउने एचआईभी सङ्क्रमित पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढी, लम्कीचुहा गएर सेवा लिने गरेका छन् ।
टीकापुरमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालद्वारा सञ्चालित सेन्टरले सन् २०१२ देखि काम गरिरहेको छ । संस्थाले एचआईभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सेलर मीनबहादुर बोहराले बताए ।
चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यत्र जानुपर्दा समस्या भएका ८३५ जनालाई यातायात खर्च सघाएको छु, उनले भने, ३१६ जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोगमार्फत खाना खुवाएको, स्वास्थ्य बीमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका २०१ जनालाई उपचार खरिदमा सघाएको, १२ बिरामीलाई आकस्मिक उपचारका लागि सघाएका छौँ ।
यसका साथै एचआईभी सङ्क्रमित सबैलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सहयोग गर्ने गरेको छ । संस्थाले बिरामीले नियमित औषधि सेवन गरेरनगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ । पालिकाअनुसार तथ्याङ्क हेर्दा टीकापुरका १३९, जानकीमा ८१, लम्कीचुहामा १६२, बर्दगोरियामा ५२, जोशीपुरमा ३३, भजनीमा १८, घोडाघोडीमा १८, मोहन्यालमा ४४, धनगढीका एक, बर्दियाका नौ, सुर्खेतका एक एचआईभी सङ्क्रमितले यहाँबाट सेवा लिने गरेको बोहराले जानकारी दिए ।
एचआईभी सङ्क्रमितलाई पोषणको समस्या, नियमित आम्दानीमा समस्या भइरहेको छ । टीकापुर र लम्कीचुहा लगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामी बताउँछन् । मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया अर्की महिला श्रीमान् बितेपछि घरमा कमाउने कोही नभएको, जग्गाजमिन पनि नभएकाले आफूलाई दैनिक गुजारा चलाउनै समस्या भएको बताउँछिन् ।
पेट भर्नकै लागि समस्या छ । एउटा छोरी थिइन् विवाह गरेर गइन्, उनले भनिन्, मलाई हेर्ने कोही छैन, सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले पुग्दैन, पोषणका लागि पनि मासिक सहयोग पाएको भए हुने थियो ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरु एचआईभी सङ्क्रमितको उपचार र हकहितका लागि अस्पतालमा रहेको एआरटी सेन्टरले राम्रो काम गरिरहेको बताउँछन् । अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिकाले सघाउनुपर्छु, पनेरुले भने, उनीहरूका समस्या समाधानका लागि स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवाला सबैको समन्वय र सहयोग आवश्यक छ ।






























