Skip

Hamro Sanchar

नगर अस्पतालमा एकैदिन झन्डै ६ सय महिलाको HPV DNA परीक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २८ गते


काठमाडौं । महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क HPV DNA परीक्षण तथा स्त्रीरोग स्वास्थ्य परीक्षण अभियानअन्तर्गत एकैदिनमा झन्डै ६ सय महिलाले सेवा लिएका छन्।

उपप्रमुख प्रजनन स्वास्थ्य कार्यक्रमअन्तर्गत गत जेठ १३ गतेदेखि सुरु भएको अभियानको पहिलो दिन वडा नम्बर ६ का २ सय १० महिलाले सेवा लिएका थिए। त्यसपछि वडा नम्बर ७, ८ र ९ का ९ सय १५ महिलाले निःशुल्क परीक्षण तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यस्तै हिजो नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ का महिलासहित यसअघि सेवा लिन छुटेका ५ सय ७० भन्दा बढी महिलाहरूको परीक्षण गरिएको हो। यो अभियान असार मसान्तसम्म निरन्तर सञ्चालन हुने प्रजनन स्वास्थ्य फोकल पर्सन लक्ष्मी कोइरालाले जानकारी दिइन्।

परीक्षणका क्रममा ९ जना महिलामा VIA (Visual Inspection with Acetic Acid) परीक्षण पोजेटिभ देखिएको छ। VIA पोजेटिभ देखिनु भनेको पाठेघरको मुखमा असामान्य वा शंकास्पद कोषहरूको संकेत देखिनु हो, जसका लागि थप परीक्षण आवश्यक पर्न सक्छ।

HPV DNA परीक्षणका लागि संकलित नमुनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको नगर अस्पतालले जनाएको छ।

अभियानअन्तर्गत महिलाहरूलाई स्त्रीरोग विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा समेत प्रदान गरिएको थियो। साथै अस्पतालसम्म आउन–जानका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो।

नगरप्रमुख उपेन्द्र कार्कीले महिलाको स्वास्थ्य सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै समयमै परीक्षण र सचेतनाबाट पाठेघरको मुखको क्यान्सरजस्ता जटिल रोगको जोखिम न्यूनीकरण गर्न सकिने बताए। उनले सबै महिलालाई निःशुल्क स्वास्थ्य शिविरको लाभ लिन आग्रह गरे।

त्यसैगरी उपप्रमुख शान्ता थापाले महिलाको प्रजनन स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने बताइन्। नियमित स्वास्थ्य परीक्षणले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिइन्।

महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षणको पहुँच उपलब्ध गराई पाठेघरको मुखको क्यान्सरलगायत अन्य प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरूको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।


प्रतिकृया दिनुहोस्