
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (World Health Organization) का प्रतिनिधिहरूले कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन गरेका छन्।
स्वास्थ्य सेवा विभाग टेकुका कार्यकारी निर्देशक डा. अमृत पोखरेल (DOHS/EDCD), जनस्वास्थ्य तथा रोग नियन्त्रण क्षेत्रका वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. फरेन्द्र बराल (DOHS/CSD), कार्यक्रममा WHO मुख्यालयका AMR सम्बन्धी वरिष्ठ प्राविधिक विज्ञ शम्सुज्जोहा बल सैयद तथा WHO दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालय (SEARO) का प्राविधिक विशेषज्ञ डा. बासिम, WHO नेपालका किमत अधिकारी, सौगात प्रधानलगायतको टोलीले अवलोकन गरेका हुन्।
प्रतिनिधि टोलीले अस्पतालका विभिन्न विभागहरूको अवलोकन गर्दै सेवा प्रवाह, उपचार प्रणाली, संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) का अभ्यास, औषधि व्यवस्थापन तथा समुदायस्तरमा प्रदान भइरहेका स्वास्थ्य सेवाबारे विस्तृत छलफल गरेको थियो। साथै, AMR नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रदान गरिएको थियो।
अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले विद्यमान प्रणाली तथा निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए भने मेडिकल सुपरिटेन्डेन्ट डा. अनामिका सिंहले अस्पतालको समग्र अवस्था, सेवा प्रवाह तथा उपचार प्रणालीबारे जानकारी दिएकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, AMR नियन्त्रण, IPC अभ्यासको प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिए। साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।
अवलोकनका क्रममा अतिथिहरूले कागेश्वरी मनोहरा नगर अस्पतालले Curative, Preventive, Promotive तथा Rehabilitative स्वास्थ्य सेवाहरूलाई एकीकृत रूपमा समुदायसम्म पुर्याएको कार्यको प्रशंसा गरेका थिए। अस्पतालको सकारात्मक वातावरण, व्यवस्थित सेवा प्रवाह, सेवाप्रतिको प्रतिबद्धता तथा समुदायमुखी अभ्यासलाई उदाहरणीय (Role Model) प्रयास भएको बताएका थिए।
अस्पतालले कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव तथा सिकाइहरूलाई आत्मसाथ गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस कार्यक्रमले AMR नियन्त्रण तथा समुदायमुखी स्वास्थ्य प्रणाली निर्माणतर्फ महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको विश्वास लिइएको छ।






























