Skip

Hamro Sanchar

कागेश्वरी मनोहराका साँढे ८ हजार बालबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १३ गते


काठमाडौं, जेठ १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा साँढे ८ हजार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई  आजदेखि (जेठ १३ गते) दुईहप्ते अभियानमा खोप लगाउन लागिएको हो ।

विसं २०७३ जेठदेखि २०७५ भदौसम्म नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त सङ्ख्याका बालबालिका खोपविहीन बन्न पुगेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

आजदेखि नगरपालिकाभरिका ८ हजार ५ सय ३३ जना बालबालिकालाई खोप लगाइने नगरपालिकाका खोप फोकल पर्सन ज्ञान बहादुर महतले जानकारी दिए ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २६ गतेसम्म ‘फुल–डोज’का रुपमा खोप लगाइने बताइएको छ ।

यसैबीच नगरपालिकाले एक सूचना जारी गरि बालबालिकालाई नजिकको विद्यालयमा रहने खोप केन्द्र वा स्वास्थ्य संस्थामा खोप सम्पर्क गर्न अनुरोध गरेको छ ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको छ ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभर गरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।

पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्