१८ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले इनाम सापकोटा प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्।
उनले सत्ताको दुरुपयोग भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएकी हुन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संग्रौलाले प्रहरी हिरासतमा रहेका अभियुक्त इनाम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा राखेको भन्ने विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गरेकी छन्।
उनले यस विषयमा अब सरकार र सत्तारूढ दलले जवाफ दिनुपर्ने बताएकी छन्। देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीको जवाफदेहितामाथि समेत प्रश्न उठाएकी छन्।
लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसमाथि सत्ताको आडमा आक्रमण गर्न खोजिएको आरोप लगाउँदै संग्रौलाले सत्तापक्षका गल्तीहरू सार्वजनिक भएपछि त्यसको जवाफ दिनुपर्ने बताएकी छन्।
उनले प्रतिपक्षलाई मात्रै प्रश्न गर्ने कि सत्तापक्ष पनि जवाफदेही बन्ने भन्दै सरकारसँग प्रश्न गरेकी छन् ।

























