१८ कात्तिक, काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।
गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति सवा ९ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।
गोलीका छर्रा लागेर यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते यादवलाई सुरुमा प्रादेशिक अस्पताल गौर लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट ७।६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएका छन्। गोली प्रहार गर्ने समूह र घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

























