
२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने सम्भावना छ।
गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको उक्त रकेटको टुक्रा स्कुल बसजत्रो आकारको रहेको र तौल करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम रहेको बताइएको छ । यसलाई जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो ।
अमेरिकी समयअनुसार बुधबार बिहान २ बजेर ३५ मिनेटमा अर्थात् नेपाली समयअनुसार बुधबार दिउँसो करिब १ बजेर २० मिनेटमा उक्त रकेटको टुक्रा चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ । यो करिब ५ हजार ४ सय माइल अर्थात् ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ ।
रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने अनुमान गरिएको छ । सूर्यको प्रकाशमा उक्त धुलो चम्किन सक्ने भए पनि पृथ्वीबाट भने नांगो आँखाले यस्तो दृश्य देख्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ





























