
६ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।
राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न उनले चेतावनी पनि दिएका छन् ।
“राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । मजस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन,” उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले आफूहरू पार्टीको मुद्दाबाट पछाडि नफर्किएको स्पष्ट पारेका छन् । राप्रपा राजसंस्था, हिन्दुराष्ट्र अंगीकार र प्रदेश संरचना खारेजीका पक्षमा छ ।
“न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र, आर्थिक रूपले मात्र होइन, प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ,” उनले भनेका छन् ।
आफ्ना सारा गल्ती, कमी–कमजोरी सच्याएर राप्रपा पुनर्गठित भएर उठ्ने उनले उल्लेख गरेका छन् ।















