Skip

Hamro Sanchar

“घरघरमा स्वच्छ पानी” अभियानमा कागेश्वरी मनोहरा: ७.३६ करोडको मुलपानी खानेपानी आयोजना सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


काठमाडौं । दीर्घकालीन खानेपानी अभावको समस्याबाट जुध्दै आएको कागेश्वरी मनोहरा नगरपालिकाले अब त्यसको स्थायी समाधानतर्फ ठोस कदम चालेको छ। “मुलपानी खानेपानी तथा सरसफाइ आयोजना” औपचारिक रूपमा सुरु भएसँगै यस क्षेत्रभित्रका बासिन्दाले निकट भविष्यमै स्वच्छ र नियमित खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ।

सात करोड ३६ लाख ६८ हजार (भ्याटसहित) रुपियाँको लागतमा निर्माण हुन लागेको यस आयोजना अन्तर्गत सनराइज ड्रिलिङ एण्ड कन्स्ट्रक्सन प्रालि, बुटवलसँग सम्झौता भई गत मंसिर १६ गतेबाट काम सुरु गरिएको हो। आयोजना २०८४ मंसिर २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाअन्तर्गत डीप बोरिङमार्फत भूमिगत पानी स्रोत सुनिश्चित गर्ने, ६ सय ३० घनमिटर क्षमताको RCC ट्यांकी निर्माण गर्ने, ३१.१८ किलोमिटर पाइपलाइन विस्तार गर्ने लगायतका पूर्वाधार विकास गरिनेछ। साथै ८.५ किलोमिटर सडक पुनःस्थापना, बुस्टर पम्प जडान, फायर हाइड्रेन्ट निर्माण तथा आवश्यक विद्युत संरचना विकास गरिनेछ।

नगरप्रमुख उपेन्द्र कार्कीले यो आयोजना नगरको दीर्घकालीन विकासका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो आयोजना केवल खानेपानी आपूर्तिमा सुधार गर्ने मात्र होइन, नगरवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तर उकास्ने महत्वपूर्ण आधार हो। हामी प्रत्येक घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने प्रतिबद्धतासहित काम गरिरहेका छौं।”

उहाँले आगामी दिनहरूमा समेत यस्ता आधारभूत पूर्वाधारका योजनाहरूलाई उच्च प्राथमिकतामा राखिने स्पष्ट पार्दै सबै सरोकारवाला पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

आयोजना सम्पन्न भएपछि नगर क्षेत्रमा पानीजन्य रोगको जोखिम घट्ने, शहरी सरसफाइ प्रणाली मजबुत हुने र आगलागी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले समेत यस आयोजनाबाट दीर्घकालीन राहत पाउने विश्वास व्यक्त गरेका छन्।


प्रतिकृया दिनुहोस्